चितवन, मुख्य राजनीतिक दलहरुका दुई अर्थशास्त्रीहरु सुरेन्द्र पाण्डे र डा विश्व पौडेलको बीचमा चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको चितवन–१ को मतगणनामा हरि ढकालले निरन्तर अग्रता लिनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँच हजार भन्दा धेरै मतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेललाई पछाडि पार्नु भएको हो । अग्रतासँगै चितवनमा उहाँको लोकप्रियता बढ्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ ५१ हजार १०५ मत गणना हुँदा ढकालले १८ हजार ५४६, नेपाली कांग्रेसका पौडेलले १३ हजार ३६९ र एमालेका पाण्डेले १३ हजार २२६ मत प्राप्त गर्नुभएको छ । यो परिदृश्यले ढकाल सांसदमा निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ ।
चितवनको राजनीतिक परिदृश्यमा निर्वाचन अघिसम्म खासै चर्चामा नआउनु भएका हरि ढकाल देशका मुख्य सहरी क्षेत्रमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेजले सांसद बन्ने अवस्थामा पुग्नुभएको छ । पुराना दलहरुप्रतिको असन्तुष्टि र आपसी खिचातानीको फाइदा यसपटक ३८ वर्षीय ढकालले उठाउनु भएको छ । रत्ननगरपालिका–१५ माधवपुरका स्थायी बासिन्दा ढकाल १६ वर्षको उमेदेखि स्थानीय क्लबहरुमा सक्रिय रहँदै आउनुभएको थियो । सेयर बजारको लगानीकर्ताको रुपमा चिनिने उहाँ लगानीकर्ता संघसँग पनि आवद्ध हनुहुन्छ । पहिलो संविधानसभाको निर्वाचन ताकासम्म नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध रहनुभएका ढकाल पार्टीहरुको फोहोरी राजनीतिबाट दिक्क भएर राजनीति छाडेर आध्यात्मिक मार्गमा लाग्नुभयो । विभिन्न योग, ध्यान र तपस्याका विभिन्न कार्यक्रममा सक्रिय रहँदै आउनुभयो । सेयर बजारलाई अनलाइन प्रणालीमा लैजानुपर्छ भन्दै उहाँले युवराज खतिवडा अर्थमन्त्री हुदा पाँच दिनसम्म अनशन बसेको ढकालका समर्थकहरु बताउँछन् ।
ढकालको निर्वाचन अभियान संयोजक दिपक गौतमको अनुसार मिडियामा खासै चर्चामा नआए पनि ढकाल पूर्वीचितवनको सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । उहाँले भन्नुभयो, ‘ उहाँ सेयर बजारलाई सुधार ल्याउने अभियन्ता हुनुहुन्छ । समाजसेवी र दानवीर पनि हुनुहुन्छ । १६ वर्षको उमेरदेखि स्थानीय क्लबहरुमा सक्रिय रहँदै आउनुभएको थियो ।’
रत्ननगरका मतदाता तथा व्यवस्थापन विषयका प्राध्यापक कपिलदेव सुवेदीले जनताले पुराना पार्टीहरुप्रति व्यक्त गरेको असन्तुष्टिको प्रतिफलस्वरुप घण्टी चिन्हमा ढकालको मत धेरै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ स्वतन्त्र पार्टीको मत बढनु भनेको पुराना दलहरुले आफूलाई नसच्याउनुको परिमाण हो । दलहरुबीचको आपसी बैरभाव, अर्कमण्डता र गठबन्धनले नागरिकमा असन्तुष्टि पैदा भयो ।’ उहाँले स्वतन्त्र पार्टीका ढकाल समाजिक र राजनीतिकरुपमा खासै चिनिएको व्यक्तित्व नभए पनि पुराना दलहरुप्रति मतदाताको अविश्वासको कारणले धेरै मत ल्याउन सफल भएको बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस