भरतपुर । देशैभर निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनाले आममानिसमा झनै कौतुहलता सिर्जना गरिदिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्व गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको प्रवेशले पनि जित कसको पक्षमा हुन्छ भन्ने यकिन गर्न नसकिने अवस्था सिर्जना गरिदिएको छ । कतिपय स्थानमा हार–जितको टुङ्गो लागिसके पनि अधिकांश स्थानमा आधाआधी मतगणना पनि भएको छैन । तर, हालसम्मको अवस्था हेर्दा देशमा रहेका पुराना र ठूला भनिएका दललाई भर्खरै उदाउँदै गरेको रास्वपा चुनौतीको रुपमा उभिएको छ ।
चितवनकै कुरा गर्ने हो भने पनि तीनवटै निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा रास्वपाकै उपस्थिति बलियो देखिएको छ । रवि लामिछानेका कारण देशकै चासोको विषयमा हेरिएको चितवन क्षेत्र नं २ मा नेता लामिछानेको जित पक्का भनेर ठोकुवा गर्नेको कमी छैन । तैपनि आधिकारिक मतपरिणाम आउन भने अझै केही समय पर्खिनुपर्नेछ । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ रवि लामिछानेसँग मुख्य प्रतिस्पर्धी हुन् ।
क्षेत्र नं २ मा मात्र नभई चितवन क्षेत्र नं १ र ३ मा समेत ‘घण्टी’ चुनाव चिह्न बोकेर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले नै चुनौती दिइरहेको छ । क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले दुवै उमेदवारलाई चुनौती दिइरहेका छन् ।
चितवन क्षेत्र नं ३ मा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौती दिइरहेको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, नेकपा एमालेले सघाएका नेपाली कांग्रेसका बागी उमेदवार दिनेश कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो ।
तर, अहिलेको अवस्थाअनुसार विक्रम पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले कडा चुनौती दिइरहेकी छन् । गणनाको सुरूवाती चरणमा माछा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको अग्रता तीव्र बने पनि मंगलबार बिहानदेखि राप्रपाका नेता पाण्डेले उनलाई पछि पारे । साथै डा. भोजराज अधिकारी पनि पछिपछि दौडिइरहेका छन् ।
केन्द्रीय पदाधिकारी नेताको भिडन्त
नेपाली राजनीतिमा केन्द्रीय समितिको प्रमुख पदमा रहेका नेता चुनावी मैदानमा उभिएकाले पनि चितवनलाई विशेष तरिकाले हेरिएको छ । क्षेत्र नं १ बाट नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेल, चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका नेता एवं पूर्वसांसद् कृष्णभक्त पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं ३ मा भने राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेसँग नयाँ अनुहार चुनावी मैदानमा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भएर काम गरिसकेका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीको प्रवेश र नेपाली कांग्रेसको विद्रोही पक्षको प्रवेशले पनि निर्वाचन रोचक बनेको छ ।
हाल चुनावी मैदानको अग्रस्थानमा देखिएका अधिकांश नेता नेपाली कांग्रेसकै पृष्ठभूमिका छन् । जीता बराल गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै विद्रोह गरेर भरतपुर महानगरपालिकाको मेयर पदमा उमेदवार बनेका पूर्वसांसद् जगन्नाथ पौडेलको पक्षमा उभिएकी थिइन् । तसर्थ यसपटक जगन्नाथ पौडेलसँगै उनकै पक्षमा उभिएकी जीता बराल र पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि उमेदवारी दिनुले सत्ता गठबन्धनभित्र पनि कांग्रेसको मत तितरबितर भएको अनुमान गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस