भरतपुर । मंसिर ४ गते भएको निर्वाचनको यतिबेला मतगणना भइरहेको छ । तीनवटा क्षेत्र रहेको चितवनमा यतिबेला मतगणना प्रारम्भिक चरणमै छ । मतगणनाको क्रम चलिरहँदा मतदाताहरु उत्सुकताका साथ मतपरिणामलाई ध्यान दिइरहेका छन् । मतदाताहरु घरमै बसेर टेलिभिजन, रेडियो र अनलाइन मिडियाबाट मतपरिणामको जानकारी लिइरहेका छन् ।
‘आफूले भोट दिएको उमेदवारले जितोस् भन्ने चाहना हुन्छ, त्यसैले टेलिभिजन हेरेर कसको कति आयो भनेर जानकारी लिइरहेको छु’, भरतपुर–१६ की गंगा आचार्यले भनिन्, ‘जसले जिते पनि विकास देख्न पाइयोस्, परिवर्तन हेर्न पाइयोस् ।’
उनले आफूले भोट दिएको उमेदवारले नजिते पनि जित्नेलाई पटकपटक भेट्न पाइयोस् भनेर आफूले कामना गरेको बताइन् ।
भोट माग्नमात्रै आउने, अघिपछि टेलिभिजनमा बाहेक आफ्नो निर्वाचन क्षेत्रमा देखा नपर्नेले नजितोस् भन्ने उनले कामनासमेत गरिन् । उनले भनिन्, ‘भोट हालेर पठाइयो, केही दिनमै एक जनालाई जिताएर पठाइन्छ, जित्नेले भ्रष्टाचार नगरोस्, आफ्नो क्षेत्रको विकास गरोस् ।’
भरतपुर–६ का केपी दाहालले पहिलेको तुलनामा पछिल्लो समय पुराना दलका पुराना नेताप्रति वितृष्णा जागेको बताए । उनले भने, ‘ठूल्ठूला सपना बाँडे, गर्छन् भन्ने विश्वास लागेर भोट दिइयो । जितेर गएपछि बाँडिएका सपना पूरा भएनन्, अहिले जित्नेले त्यसो नगरोस् ।’
उनको भनाइअनुसार जसले जिते पनि चितवनको विकास होस्, देशभरका नागरिकले विकासको नमुना दिँदा चितवन जिल्लाको नाम लिऊन् । उनले थपे, ‘उमेदवार धेरै छन्, जित्ने एक जनामात्रै हो, जोकोहीले जिते पनि एक रूपैयाँ भ्रष्टाचार नगरोस्, विकासप्रेमी बनोस् ।’
अबको केही दिनभित्रमा चितवनमा प्रत्यक्षमा प्रदेशतर्फका ६ र प्रतिनिधिसभाका ३ गरी ९ सांसद् चुनिन्छन् । चितवन क्षेत्र नं १ को मतगणना खैरहनी नगरपालिकानजिकका स्कुलमा भइरहेको छ । चितवन क्षेत्र नं २ को मतगणना चितवन प्रदर्शनी केन्द्रमा भइरहेको छ । चितवन क्षेत्र नं ३ को मतगणना कृषि तथा वन विश्वविद्यालयको भवनमा भइरहेको छ ।
भरतपुर–२५ का मतदाता पुरूषोत्तम ढकालले जसले जिते पनि केही हुँदैन भन्ने मान्यता अब निर्वाचित भएर जाने सांसद्ले तोड्नलाई सुझाव दिए । उनले भने, ‘मतगणना भइरहेको छ, चितवनबाट प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ ३ जना सांसद् चुनिन्छ, चुनिने पात्र यस्तो बनोस् कि मतदातालाई कहिल्यै मैले गलत मान्छेलाई जिताएछु भनेर पछुतो नपरोस् ।’ उनका अनुसार चितवनवासीलाई ठूलो केही चाहिएको छैन, बेथिति, विसङ्गतिको अन्त्य होस्, भ्रष्टाचार नगरोस्, विकास होस्, यति भए पुग्छ ।
ढकालले थपे, ‘मतगणना सुनिरहेको छु, जुन उमेदवारले जिते पनि केही छैन, हामीलाई चाहिएको विकास, रोजगार, निःशुल्क शिक्षा र स्वास्थ्य यही त हो नि । यी कुरा जितेर जाने सांसद्ले पूरा गरोस् ।’
भरतपुर–१४ का आरसी ढकालले निर्वाचन जितेर गाउँ नफर्किने पात्र कोही उमेदवार बनेका छन् भने त्यस्ता उमेदवारले नजिते हुन्थ्यो भन्ने कामना गरे । उनले भने, ‘भोट हालियो, जो निर्वाचित भए पनि गाउँ फेरियोस् भन्ने लागेको छ । विगतमा के भयो भन्नेतर्फ लाग्नुभन्दा पनि अब गर्नैपर्छ भन्ने उमेदवारले जितोस् भन्ने मेरो चाहना छ ।’
उनले अहिले मतगणनाको प्रारम्भिक रूझानमा केही भन्न नसकिने बताए । उनले भने, ‘अहिले अग्रता र पछाडि भनेर केही हु्ँदैन, अन्तिम परिणाम नआउँदासम्म केही भन्न सकिँदैन, तर जसले जिते पनि राम्रो उमेदवारले जितोस् ।’
चितवन क्षेत्र नं २ मा मतगणना हुँदै ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस