नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताउनुभएको छ । बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उहाँले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताउनुभएको हो । उहाँले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताउनु भयो ।महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको बताउनु भयो । शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भएपनि तिन अंगबीच शक्ति सङ्घर्ष चलिरहेको उहाँले बताउनु भयो । उहाँले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको बताउनु भयो । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गर्नुभयो । उहाँले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहालमाथि आक्रोश पोख्नुभयो । उहाँले दाहालहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताउनु भयो । उहाँले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो भनि प्रश्नसमेत गर्नुभयो । त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मंसिर ४ गतेको निर्वाचन खारेज गरेर स्वाधिन स्वयुक्त सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले स्वाधिन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताउनु भयो । देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै निर्वाचन गर्नसकिने उहाँको भनाई छ । उहाँले मंसिर ४ गते हुने निर्वाचनलाई अवज्ञा गर्न जनतालाई अपील गर्नुभयो । मतपेटिका खालि पठाउन उहाँले आग्रह गर्नुभयो । वर्तमान सरकार र व्यवस्था नमान्न पनि उहाँले जनतालाई आग्रह गर्नुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस