नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् ।
बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन् । उनले आफ्नो पहिलो लक्ष्य प्रतिनिधिसभा सदस्य र दोस्रो लक्ष्य भनेको पार्टीबाट संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भई देशको विकास गर्नु रहेको बताए ।
महामन्त्री थापाले हरेक निर्वाचनमा आफूलाई जनता नै शक्ति हुन् भन्ने कुराले डर लाग्ने गरेको बताए । उनले यसअघिको चुनावमा धेरै स्थानमा उत्साह र शुभेच्छा देखिए पनि अहिले देशभरका विभिन्न स्थानमा चुनावप्रति आममानिसको शुभेच्छा र उत्साह कम हुँदै गइरहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आमनागरिकको साथ रहेको र त्यसलाई आफूले पूरा गर्ने प्रतिबद्धता जनाए ।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई सभा, गोष्ठी, सेमिनारलगायतका चुनावी प्रचारप्रसारको समय दिएसँगै अहिले देशभर राजनीतिक दल र उम्मेदवारहरू नागरिकको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरूले नागरिकको घरघरमा पुगेर मत माग्ने क्रम जारी छ । निर्वाचन आयोगले मंसिर २ गतेसम्म उम्मेदवारहरूलाई भोट माग्नका लागि, गोष्ठी, सेमिनार, सभा गर्न समय उपलब्ध गराएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस