डोटी, सुदूरपश्चिम प्रदेशको डोटीमा एकै रातमा चार म्याग्निच्युडभन्दा ठूला तीन भूकम्प गएका छन् । बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७, राति नै ९ बजेर ५६ मिनेटमा ४.१ र बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प मापन भएको छ । डोटीमा भूकम्प गएको जमिनभित्रको दूरी १०–१५ किलोमिटर रहेको छ । डोटीको यो भूकम्पलाई केन्द्रले ‘मध्यम’ भनेको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी यो भूकम्पले जोखिम कायमै रहेको स्मरण गराएको बताउँछन् । ‘नेपाल नै भूकम्पीय दृष्टिले जोखिमपूर्ण रहेकाले ठूला भूकम्प जाँदैन भन्न सकिँदैन । सतर्कता अपनाउनुपर्ने देखिन्छ,’ उनले भने । नेपालको पोखरा र भारतको देहरादुनको बीचमा ८ म्याग्निच्युटभन्दा माथिको भूकम्प नगएको पाँच सय १७ वर्ष नाघिसकेको छ । हिमालय दक्षिणको भारतीय प्लेट र उत्तरको तिब्बतीयन प्लेटको सीमामा रहेको नेपाल भूकम्पीय जोखिममा मानिन्छ ।
सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर १४ साउन ०३७ मा गएको भूकम्पमा परी एक सय ७० जनाको ज्यान गएको थियो । त्यसपछि २१ पुस ०५३ मा बैतडी केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बैतडीको भूकम्पले दार्चुलासम्म भौतिक क्षति पुर्याए पनि मानवीय क्षतिको भने रेकर्ड भएको थिएन ।
नेपालमा पछिल्लोपटक गोरखाको बारपाक केन्द्रबिन्दु भएर १२ वैशाख ०७२ मा गएको ७.८ म्याग्निच्युडको भूकम्प र यसको परकम्पले करिब नौ हजारको ज्यान लिएको थियो । १९९० मा ८.२ म्याग्निच्युडको भूकम्प गएको थियो । दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन भइरहेको छ ।
फ्रान्सको पेरिस विश्वविद्यालयका प्राध्यापक फेडरिक पेरियर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका– ४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालेका हुन् । तातोपानी भएको क्षेत्रमा भूकम्प आउने खतरा रहेकाले अध्ययन थालिएको शर्माले बताए ।
शोकमा डोटीको गैरागाउँ
भूकम्पमा परेर ६ जनाको मृत्यु भएपछि डोटीको पूर्वीचौकी गाउँपालिका– ३, गैरागाउँ शोकमा डुबेको छ । दुई घर पूर्ण रूपमा भत्किँदा भएको मानवीय क्षतिमा चार बालबालिका परेका छन् । घरभित्र सुतिरहेका वेला राति भूकम्पले घर भत्किएपछि उनीहरू च्यापिएका हुन् । सोही ठाउँका पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा गैरागाउँकी ४० वर्षीया भगवती बोहरा, उनका छोरा आठ वर्षीय हर्क बोहरा र छोरी १३ वर्षीया सीता बोहरा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ५० वर्षीय प्रेम बोहरा, उनकी छोरी १४ वर्षीया तुलसी बोहरा र उनको घरमा वास बसेकी स्थानीय १४ वर्षीया धनसरी बोहराको पनि मृत्यु भएको डिएसपी भोला भट्टले जानकारी दिए । उनका अनुसार भत्किएको घरमा च्यापिएर स्थानीय इन्नरीदेवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, चना बोहरा र महावीर बोहरा घाइते भएका छन् । किस्ना र चनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको छ । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ भाँचिएको र घाँटीको हड्डी भाँचिएको जानकारी दिए । त्यस्तै, किस्नाको हात भाँचिएकोछ ।
भूकम्पले घर भत्किएपछि पूर्वीचौकी गाउँपालिकाका २८ परिवार विस्थापित भएका छन् । १४ घर पूर्ण रूपमा र १४ आंशिक रूपमा भत्किएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । विस्थापितलाई सेना र स्थानीय तहसँग समन्वय गरेर त्रिपाल, कम्बल र खाद्यान्न वितरण गरिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै, सायल गाउँपालिकामा पनि १३ घर सामान्य चर्किएका छन् ।
भूकम्पले बझाङमा पनि घरहरू भत्किएका छन् । थलारा गाउँपालिका– ९, सिरेटामा पाँच घरमा पूर्ण रूपमा क्षति पुगेको तथा खप्तडछान्ना, छबिसपाथिभेरा, केदारस्युँ, चिरबित्थड र मस्टा गाउँपालिकामा गरी १७ घरमा आंशिक क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, जयपृथ्वी नगरपालिकाको जयपृथ्वी क्याम्पसको एउटा भवनको भित्ता र जिल्ला कारागारको पर्खाल चर्किएको प्रहरीले जनाएको छ ।
भूकम्पपीडितलाई विभिन्न राजनीतिक दल र उम्मेदवारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्वमन्त्री तथा डोटीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आलेले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई एक लाख ५० हजारका दरले सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, एमाले डोटीले एक लाख सहयोग गर्ने जनाएको छ ।
२३६ परकम्प
डोटी भूकम्पपछि निरन्तर परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर १.७ देखि ३.९ म्याग्निच्युडका दुई सय ३६ वटा परकम्प गएका छन् । ‘गोरखा भूकम्पका परकम्प अहिलेसम्म पनि गइरहेका छन् । त्यसैले डोटी भूकम्पपछि पनि कहिलेसम्म परकम्प जान्छ, यकिन भन्न सकिँदैन,’ उनले भने, ‘यस क्षेत्रमा ठूलो भूकम्प नगएको वर्षाैँ भएकाले योभन्दा ठूलो पनि जान सक्छ वा सानो पनि जान सक्छ ।’ गोरखा भूकम्पका ५६ हजार परकम्प गइसकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस