काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले फुटबल मैदानमा पस्नासाथ मेस्सी हुन पाईन्छ र ? तेस्तै युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उनले युवालाई हतार नगर्न आग्रह गरे ।
‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उनले भने, ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’
उनले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताए । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गरे । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन’, उनले भने, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’
कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गरे । महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उनले आग्रह गरे ।उनले राजनीतिलाई शुद्ध बनाउनुपर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गरे । यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उनले आरोप लगाए । आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उनले लगाए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस