काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना आयोग विभाग सदस्य एम अधिकारीलाई खोज्न माओवादी केन्द्रका सांसद गजेन्द्र महतले आग्रह गरेका छन् । उनले सरकार र प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीलाई खोज्नुपर्ने बताएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद महतले जिम्मेवार पार्टीको जिम्मेवार विभागको सदस्य हराउँदा पनि खोज्न कसैले तदारुकता नदेखाएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ गाउँघरतिर तर यहाँ सबैभन्दा ठूलो पार्टीको महत्त्वपूर्ण विभागको केन्द्रीय सदस्य हराउनुभएको छ । उहाँको खोजी न सरकार गर्छ, न प्रतिपक्षी गर्छ मैले अनौठो मानिरहेको छु उनले भने, सरकार विद्यार्थीको जिम्मा लगाइरहेको छ, प्रतिपक्ष आफ्नो महत्त्वपूर्ण सदस्य खोज्नुको साटो सीसी क्यामेरा खोज्दै हिँडेको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गराएको विषयमा संसद्ले छानबिन समिति बनाएको तर एम अधिकारी खोज्न कुनै समिति गठन नगरेको भन्दै उनले असन्तुष्टि जनाए । त्यो सीसी क्यामेरा खोज्ने समिति बनिसकेको छ, त्यत्रो महत्त्वपूर्ण मान्छे हराएको छ त्यो खोज्ने कुनै समिति बनेको छैन । म कसलाई भनुँ यो कसले खोजिदिने उनले भने ।
अधिकारी थरको व्यक्ति हराएकाले अधिकारी थर भएका मान्छेहरूले नै खोज्नुपर्ने महतको व्यंग्य थियो । हाम्रो गाउँघरतिर कुनै थरको मान्छे, मानौं महत थरको मान्छे हरायो भने महत थरकै माान्छे खोज्छन्, यहाँ एम अधिकारी हराएको हुनाले त्यो थरका मान्छेहरूले, सरकारले नखोजे पनि‚ प्रतिपक्षले नखोजे पनि अब त्यो थरका मान्छेले एम अधिकारी खोज्नुपर्यो । एम अधिकारी खोज्दै सडकमा प्रदर्शन भइरहेको र संसद्मा आवाज उठिरहेको अवस्थामा वास्तविकता बाहिर नआएको सांसद महतको भनाइ थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस