चितवन, भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रूपैयाँ बजेट पेस गरेको छ । आगामी आवको लागि महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।
चालु आव २०७८/७९ मा भन्दा आगामी आवको बजेटमा २२ करोड ६८ लाख ६८ हजार रूपैयाँ बढाइएको छ । जसका लागि आन्तरिक आयमा १ अर्ब ५० करोड प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समितिबाट ५ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
चालु आवको लागि महानगरले पुरक बजेट तथा अख्तियारीसमेत गरि ५ अर्ब ५१ करोड ७३ लाख ८८ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ४० करोड रूपैयाँ रहने प्रक्षेपण गरिएको छ ।
महानगरले अधुरा आयोजनाका लागि १ अर्ब ३० करोड रूपैयाँ छुट्याएको छ । वडास्तरबाट हुने आयोजनाका लागि प्रत्येक वडालाई २ करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको अधिकारीले बताए ।
नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । महानगरले आगामी आवमा कृषि एम्बुलेन्स र पशु एम्बुलेन्सदेखि फोहोरको स्रोतमा नै वर्गिकरण गर्ने नीति लिएको छ ।
स्रोतमा नै फोहोरको वर्गिकरण नगर्नेलाई पाँच सय रूपैयाँ जरिवाना तिराइने दाहालले बताएकी छन् । कृषकहरूलाई तत्कालै प्राविधिक सहायता पुर्याउनका लागि कृषि विज्ञहरूसहितको कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइने मेयर दाहालले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
बजारी क्षेत्रमा आकाशे पुल, ट्राफिक लाइट जडानदेखि स्मार्ट सःशुल्क पार्किङको व्यवस्था गरिने महानगरले नीति लिएको छ । समग्र नीति तथा कार्यक्रममा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको उनले बताइन् ।
त्यस्तै महानगरमा विद्युतीय बस सञ्चालन, ज्येष्ठ नागरिकलाई धार्मिक स्थल देवघाटसम्म विद्युतीय वसमा निःशुल्क पुर्याउने व्यवस्था गरिने उनको भनाइ छ । छलफल र सुझावलाई समेटेर महानगरले नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस