बैशाख, चितवन । चितवन जिल्लामा लकडाउन केही खुकुलो भएको जनगुनासो बढेपछि प्रशासनले थप निगरानी गर्दै कडाई गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सरकारी नीतिअनुसार नै बैंक तथा वित्तीय संस्था, कृषि क्षेत्र तथा विकास निर्माणको काम गर्न निश्चित मापदण्ड तोकेर केही खुकुलो गरेपछि बाहिर निस्कनेको संख्या पनि बढेको गुनासो आएपछि प्रशासनले बाहिर हिँड्नेको लागि थप कडाई गर्न खोजेको हो।
जिल्ला प्रशासनले अनुमति दिएका बाहेक हिँडडुलको लागि स्वास्थ्यकर्मी र पत्रकारबाहेक अन्यलाई छूट नहुने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। ‘आज मात्रै सहज भएर हुँदैन, यसले भोलि झन् ठूलो असहज सिर्जना गर्न सक्छ,’ उनले भने, ‘त्यसैले बिनाकारण बाहिर निस्कनेलाई हामी कानुनी कारवाही गर्छौँ।’ अत्यावश्यक कामको लागि हिँड्नै पर्नेले जिल्ला प्रशासनबाट पास लिएर मात्रै काम गर्न सकिने उनको भनाइ छ।
‘तर, विभिन्न बहानामा स्थानीय तह र जनप्रतिनिधिले दिएको पासलाई हामी मान्नेवाला छैनौँ,’ उनले भने, ‘निवेदनका आधारमा कत्तिको आवश्यक हो भनेर प्रशासनले मूल्यांकन गरेपछि मात्रै पास जारी हुन्छ।’ पछिल्लो समय आम सर्वसाधारणको लागि सहज होस् भन्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थालाई सञ्चालन गर्ने निर्णय लिँदा मानिसहरूले गलत फाइदा उठाएकोले कडाई गर्नुपरेको उनले बताए।
स्वास्थ्यकर्मीको लागि पनि संस्थाले दिएको परिचय पत्र र ‘ड्युटी सिफ्ट’ हेरेर अस्पताल र घर जानआउनबाहेक कुनै पनि अवस्थामा छूट दिन नसकिने उनले स्पष्ट पारे। स्वास्थ्यकर्मी तथा वित्तीय संस्थाहरूले पनि रोगको जोखिम नहुने तरिकाले कम्तिमा दुई मिटरको दुरी कायम गरेर काम गराउन निर्देशन दिइसकेको उनले बताए।
पत्रकारको हकमा पनि समाचार संकलन गर्न पुग्ने स्थान, कार्यालय र घरसम्मको दुरीमा मात्रै हिँडडुल गर्नुपर्ने उनले बताए। टोलटोलमा निगरानी प्रशासनले लकडाउन खुकुलो भएको गुनासो बढेपछि टोलटोलमा समिति बनाएर थप निगरानी गर्ने भएको छ। ‘समुदायलाई पनि सक्रिय गराउन सजिलो हुने र सम्बन्धित टोलमा बाहिरी मानिसको प्रवेश कस्तो छ भनेर निगरानी गर्न पनि टोलबाटै बढी सम्भव हुने हुँदा टोलले नै निगरानी गर्ने तयारी भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘टोलबाटै निगरानी भयो भने लकडाउन प्रभावकारी हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ।’
प्रत्यक टोलमा खाद्यान्न, फलफूल तथा तरकारी, दूध डेरी, मेडिकल जस्ता अत्यावश्यक व्यवसायलाई मात्रै खुला गर्न भनेकाले अन्य व्यवसाय खुला भएको पाइएमा कारवाही गर्ने उनले बताए। सेवा दिने व्यक्तिले मास्क र ग्लोब्सको अनिवार्य प्रयोग र प्रवेश विन्दुमा हात धुने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस